आमाकाे निद्रा (कथा)

                       

आमाको निन्द्रा



"आमा" शब्द तेसै पनि गह भरि आँसु पारिदिने एक वजनदार शब्द मानिन्छ। आमाकाे बिषयमा बाेल्न जस्तै मै हुँ भन्नेहरुलाई पनि आँखामा आँसु नराखी मुस्किलनै पर्छ। जाे कसैलाई पनि आमाकाे महत्व तब थाहा हुन्छ जब आमाबाट टाढा भइन्छ अथवा हामी आफै सँग तेस्तै केही घटना भयाे भनेमात्रै  उनकाे त्याग तपस्याकाे पत्ताे चल्छ। तर दुनियामा आमाले संघर्षका साथमा आफुलाई हुर्काउने बढाउने गरेकाे थाहा हुँदा हुँदै पनि महत्व बुझ्न ढिला गर्छन् र कति आमाहरु मरिमरी छोराछोरी हुर्काउदा पनि बृद्धश्रममा बस्न बाध्य हुन्छन। जीवनमा धेरै व्यक्तीहरु पछुताे सहित बस्ने गर्छन्। मलाई कैले काहीँ श्रृष्टि गर्ने श्रृष्टिकर्ताले सबै लाई धन सम्पत्ति संगै दाँजेर यी बा र आमाकाे माया लाई मात्रै दाँज्न धन्न छोडेछन जस्ताे लाग्छ यसमा उसकाे केही स्वार्थ लुकेकाे भएरनै हाेला जस्ताे पनि लाग्छ मनै हाे जता पनि साेच्न भ्याउने। अरुले आमालाई घृणा गरेकाे देख्दा मन कटक्क खाएर आउँछ।


आज म पनि आमा हुने अवसर हुँदा आफ्नाे छाेरा छाेरी प्रति लुटाउने मेराे माया सम्झँदा मैले आफ्नाे  बाल्यकालकाे कुरा नसम्झेर बस्नै सक्दिन।
बुढिआमा,बा-आमा अनि  हामी परिवारमा भाई बहिनी र म थियाैँ। हामी धेरै खुसि छाैँ जस्ताे मलाई लाग्थ्याे ।
आमा भने धेरै जसाे बिमारि परिरहनु हुन्थ्याे तर बिमारी भयपनि हामीलाई कुनै कुराकाे अभाव थिएन सायद आमा बाट हुनुपर्ने सबै आशा पुरा गरिदिनु भएकाे थियाे।
बा र आमालाई काम धेरै नै गर्नुपर्थ्याे मेराे जिम्मेवारी भाइ,बहिनी हेर्ने अझ भनाैँ भने भाइ त हुर्किसकेकाे थियाे बहिनी सानै थिई म बैनिलाई हेर्थेँ कहिलेकाहीँ बाहिर हिडडुल गर्न मन लागे सकिनसकि बैनिलाई बाेक्थेँ र हिड्थेँ।सानै थियाैँ बाल मनस्थिति त भयाे भाइ र मेराे भने कुरा पटक्कै नमिल्ने उ र म धेरै झगडा गर्थ्याैँ अनि दिदी भएर भाईलाई पिट्ने भनेर आमाले मलाई पिट्नुहुन्थ्याे मलाई आमाले मेराे पक्षमा कुरा नगरि भाइकाे पक्षमा बाेल्दा सारै अन्याय जस्ताे लाग्थ्याे र साँझ बा फर्कियपछि बा सँग कुरा लगाउँथे बा ले मलाई धेरै माया गर्ने भएर हाेला मेराे अगाडि आमालाई पिटे जस्तै गर्नुहुन्थ्याे अनि म खुसि भएर ठिक्क पर्याे भन्दै ताली बजाउँथे तेसपछि बा र आमा आँखाकाे डिलभरि आँसु राखेर खसुखुसु हाँस्नु हुन्थ्याे। फेरि म साेच्थेँ आमा म हाँसेपछि किन सँगै हाँस्नुहुन्छ हाेला भनेर !! र उहीँ समयमै आमालाई साेधिहाल्थेँ आमा! बा ले तपाईलाई पिट्दा म हाँस्छु अनि म सँगै तपाईं किन हाँस्नुहुन्छ? आमाले मेरी छाेरि हाँस्दा म किन रुनु भनेर हाँसेकि भन्नुभयाे म फुरुङ्ग भएँ । फेरि मैले आमा आँखा टल्काएर पनि हाँस्छन् है कसरी हाँस्नेहाे तेस्ताे मलाईनि सिकाउनुस् न ।
आमाले ठुलि भइस् भने आफै थापाउँछेस् भन्नू भयाे
र भाइ बहिनी छाेडि घाँस लिन जंगल
जानुभयाे।
बहिनि सुतिसकेपछि भाइ सँग खेल्दै थिएँ भाईले मैले बनाएकाे खेलाैनाकाे घर भत्काईदियाे र हाँस्याे मलाई पनि धेरै रिस उठ्याे र धेरै पिटेँ अनि भाईलाई भुईमा पल्टाएर घाँटिमा थिचेँ तेसाे गर्दा भाईले खुट्टा छटपटायाे धन्न भगवानकाे कृपाले आमा आईपुग्नुभयाे र देखेर मलाई धेरै पिट्नुभयाे भाईलाइ उठाएर रुनुभयाे  र फेरि मलाई पिट्नुभयाे तेसैबेला बा आएर आमालाई धेरै गाली गर्नु भयाे मलाई भने बाले आमालाई गाली गर्दा मनमा शान्ती भयाे भित्र भित्र खुसि भएँ तर त्याे दिन बा ले आमालाई साँच्चिकै रिसाउनुभयाे जस्तै लाग्याे। आमा धेरै रुनुभयाे।
बासँग बाट आमालाई जतिनै गाली खुवाएपनि खाना त आमाले दिएर नखाए सम्म अघाए जस्तै लाग्थेन मलाई। आमा सँग बिस्तारै नबाेली नबाेली नजिक गएँ र आडैमा बसेँ आमाकाे मन हाे म भाेकाएकाे भाषा बुझ्नुभएछ क्यारे खाना खान दिनुभाे। त्याे दिन आमाले खै कुन कुरा सम्झनु भएकाे थियाे धेरै बेर सम्म रुनुभएकाे थियाे मलाई आमाकाे काखमा बसेर आमा! नरुनुस् भन्न मन त थियाे तर काखमा बहिनी थिई उतापट्टि भाइ थियाे म सँधै बाकाे काखमा नै बस्थेँ। कहिले काहीँ भाइ बहिनी मात्र आमाकाे काखमा बसेकाे देख्दा डाह पनि लाग्थ्याे। तर बाले भने मलाई मात्रै काखमा राख्नुहुन्थ्याे र खुसि हुन्थेँ।भाेली पल्ट बिहान आमा बा छिटै मेलामा जानु भयछ बुढिआमा भान्सामा खाना पकाउँदै हुनुहुन्थ्याे हामी खाना खाएर बहिनी हेर्दै बस्याैँ साउनकाे महिना हुनाले झम झम पानी परिरहेकाे थियाे।बुढिआमा पनि खाना खाएर कता निस्कनुभाे आमा भने मेलाबाट बहिनिलाई दूध खुवाउन भनेर छिटै फर्कनुभएकाे रहेछ आमा आएर हामीलाई खाजा खान दिनुभाे आमाले खान नदिए दिनभर भाेकै छु जस्ताे लाग्ने हामिलाई तेतिखेर अघाएजस्तै लाग्याे। आमाले बहिनिलाई खुवाई सकेर "नानि अहिले भाइ बहिनी हेर भाईलाई नपिटेस् म पँधेरा गएर पानी लिएर आउँछु।"भन्दैै डाेकाेमा गाग्री राखेर तेसमाथी बाँसले बुनेकाे स्याखु ओढेर गएँ है भन्नुुुुुुुुुभयाे मैले टाउकाेकाे भाषाले मन नभै नभै हवस् भनेँ।
 आमा पानी लिन पधेरा जानुभाे हामी बहिनिलाई सुतायाैँ र सँधै झगडा गर्ने दिदि भाइ तेसदिन धेरै मिलेर खेल्याैँ धेरै अबेरसम्म पनि आमा आउनुभएन बहिनी उठेर रुन थाली हामी बहिनी भुलाउन लाग्याैँ उसलाई भाेक लाग्याे र राेई कि अरुनै केही भएर राेई हामी उसकाे भाषा बुझ्न सकेनाैँ बाेकेर डुलाए हुन्छ कि भनेर सकि नसकि बाेक्न थालेँ अब त झनै डाकाे छाेडेर चिच्याइ चिच्याई रुन थाली आमा साँझ सम्म पनि आउनु भयन हामी बहिनी राेयकाे देखेर बहिनि शान्त पार्न नसके पछि बहिनि सँग सँगै राेयाैँ । साँझ पर्दा सम्म आमा नआएपछि हामी निकै अत्ताल्लियाैँ ।
बा त मेला जानुभयकाे थियाे थाहा थियाे तर बुढिआमा कता जानुभएकाे थियाे थाहा थिएन ।साँझ बित्ने बेलामा बुढिआमा आईपुग्नुभाे र आमा खै भनेर साेध्नुभाे मैले पधेरा जानु भएकाे कुरा गरेँ ।बा पनि आईपुग्नुभयाे बाले साेध्नुभयाे बालाई पनि भनेँ बा ले अब त आउनुपर्ने भन्दै खाेज्न जानुभयाे।
बहिनि भने रुँदा रुँदै थाकेकि पनि थीइ हाेला तर बुढिआमाले समायर भैँसीकाे दूध खुवाएपछि शान्त भई।
एकछिनमा बा ले आमालाई डाेर्याउँदै आईपुग्नुभाे आमा लाई हेर्दा आमा त पुरै शरीर पानीले लुछुप्प भिज्नुभएकाे र हिलैहिलाे पनि हुनुभएकाे,खुट्टामा हेर्दा रगतै रगत भएकाे थियाे ।आमालाई हेरेर हामी बालाई के के कुरा लगाउदै आमालाई फेरि गाली खुवाउने तयारिमा थियाैँ तर आमाकाे त्याे अवस्था हेरेर आमा सँगै बसेर रुन मन लाग्याे। बुढिआमाले के भयाे? भन्नुभाे तर आमा बाेल्न सक्ने अवस्थामा हुनुहुन्थेन हाेला बाेल्नुभएन घरकाे पटाहामा गुन्द्री ओछ्यायको थियाे तेहि पल्टनुभयाे। बाले पानी लिएर आउँदा भिरबाट लडिछ भन्नुभयाे।
 झाँक्री लागेर लाेटीहाेली धामीलाई बाेलाउनु पर्याे भनेर बालाई धामीकहाँ पठाउनुभयाे।
बा ले धामी लिएर नआउनेबेला सम्म आमालाई धेरै गाराे भएछ क्यारे आमाले "नानी! तँ ठुलि छेस् म भईन भने तैँले भाइ बहिनी दुबैलाई माया गर्नुपर्छ हेर्नुपर्छ गर्छेस् कि गर्दिनस् भन् त?" भनेर रुदै रुँदै बाेल्न थाल्नुभयाे मैले बहिनिलाई सँधै त मैले हेरेकि छु त अनि तपाईलाइ बा ले नपिटेकै बेलामा किन रुनुपरेकाे भनेर उल्टै रिसाएँ।आमाले हाँसेजस्ताे गरेर मलाई अँगालाे हाल्नुभयाे र झनै रुनुभयाे। आमाले फेरि "नानि म भइन भने अर्कि आमा आउछे तैँले भाईबहिनि राम्राे सँग हेरेस् है।" भनेर फेरि भन्नुभयाे मलाई आमाले भनेका ती शब्द पटक्कै मन परेका थिएनन्। मलाई लाग्याे कि आमा मलाई छाेडेर कतै घुम्न जाँदै हुनुन्छ तेहि साेचेर याे पटक त छिटै भन्छु जस्ताे लाग्याे र भनेँ काँ जानुहुन्छ र मलाई नलगि जान पाउनुहुन्न है म पनि जाने हाे अस्तिनै मामाघर जाँदा पनि मलाई लैजानुभएन याे पटक त मपनि जसरि पनि जाने हाे।
आमाले याे पटक म जाने ठाउँमा तिमिलाई लान मिल्दैन जस्तै छ छाेरी भन्दै हुनुन्थ्याे उताबाट बुढिआमाले छाेरा छाेरिलाई के के भन्छे भनेर कराउनुभयाे ।तेसपछि आमाले हाेइन बज्यै म बाँच्दिन हाेला पनि भन्नुभाे सायद आमालाई चर्पि जान मन थियाेहाेला बसेकाे ठाउँबाट उठ्ने काेसिस गर्नुभयाे आमा जब उठ्नुभयाे आमाकाे दुईवटा खुट्टाकाे बिचमा रगतकाे धारा बग्याे मैले त आमा के भयाे भनेँ र आमाकाे हात समाउँदै थिएँ आमा बङ्लङ्ग भुईमा ढल्नुभयाे।
 मैले आमा! आमा!!
ए! आमा!
भनेर कति बोलाएँ तर अँह आमा कत्ति बोल्नु भयन। बुढिआमा र म मिलेर आमालाई ओछ्यानमा राख्याैँ राती भैसकेकाे थियाे बा धामी लिएर आईपुग्नुभाे। धामी पनि धेरै बेर सम्म कामेर के के गरे पत्ताे भएन म धामीले भनेकाे बुझ्ने भैसकेकि थिईन सायद खै के के फतफताईरहन्थे तर आमा उठ्नुभएन।झाँक्री नै लागेकाे भनेर भनेछन् क्यारे बा ले उनले भनेजस्तै गरि उठाइ मनाई गर्नुभाे।कुखुरा चढाउनुभयाे ।तर आमा उठ्नुभएन मैले आमा अब निदाउनुभएछ क्यारे भन्ने साेचेँ तर आमाकाे मुख धेरै सुकेकाे थियाे रगतले कम्मर मुनि सबै भिज्नुभएकाे थियाे। भाइ म भन्दा सानाे थियाे उसले हेर्दा हेर्दै निदाईसकेछ। सायद यस्ता कुरा देख्दा अबाेध हुनुनै बेस जस्ताे लाग्छ मलाई पनि हाम्राे बाल मनाेबिज्ञानले के नै छुट्याउन सक्छ र जस्ताे साेच बेलाबेलामा नआयकाे पनि हाेईन तर हामी केही ठुला भएकाे भए बा लाई "बा धामी खाेज्न नजानुस् अस्पताल जानुपर्छ" भन्थ्याैँहाेला।
म पाँच बर्ष पुगिसकेकि थिएँ अर्काे बर्ष स्कुल पठाउने तयारि थियाे बा आमाकाे तर अर्काे बर्ष नआउँदै के भयाे भयाे बुझ्नै सकिन ।
तेसभन्दा अगाडिका दिनहरुमा आमा बिमारि परिरहनु हुन्थ्याे अनि मलाई "नानि तँ ठुली भएर मलाई औषधी गर्नुपर्छ है?"भन्नुहुन्थ्याे अनि मैले जानेकै छैन भन्थेँ आमाले पनि सरहरुले सिकाउनुहुन्छ तँलाई भन्नुहुन्थ्याे अनि हुन्छ भन्थेँ।
त्याे दिन त आमा
 म ठुली नहुँदै बिमारी पर्नुभाे झाँक्रीलागेकाे बाहनामा कालाे बाेकाे भक्कलियाे र कुखुरा चढाईयाे।
तर औषधी गर्न लाने उपाए केही गरिएन। मध्य राति भएकाे थियाे सायद आमाले पानी! पानी! भन्नुभयाे।म सँधै छिटै निदाउने उक्त दिन खै के भयाे निदाएकी रहेनछु आमाकाे आवाज सुन्ने बित्तिकै जुरुक्क उठेँ र अम्खाेरा समाएर पानी लिएर आमा सँग गएँ आमाले मुखले  खोल्नुभयो मैले अक्खाेराकाे पानी मुखमा हाल्दिदै थिएँ पानी पाेखियाे केही भाग पानी त आमाकाे मुखमा परेकाे थियाे । आमाले एकछिन् मा बिस्तारै नानी ! भन्नुभयाे आमाले नानी भनेकाे बाले चाल पाउनुभएछ क्यारे बा पनि उठ्नुभयाे
नानीकि आमा! तँलाई कस्ताे छ झाँक्री लागेकै हाेईछ हेर तेराे हाेस आयाे अब ठिक हुन्छेस् भन्नुभयाे। आमाले धेरै बाेल्न सक्नुभएन टाउकाे मात्र हल्लाएर नाई भन्ने इशारा गर्नुभयाे भन्ने बुझेँ मैले ।मनजिकै थिएँ आमाले नमनी बहिनी सानी छे बहिनी र भाईलाई माया गरेस् है भन्नू भाे मलाई खै किन भित्री मनदेखि के भयाे रुन मन लागेछ क्यारे आँखा भरि आँसु पार्दै हुन्छ भनेँ आमाले बिस्तारै आँखा बन्द गर्नुभयाे। अब भने आमा निदाउनुभयछ जस्तै लाग्याे तेस राती मलाई खै किन अबेर सम्म निन्द्रा लागेन सँधै बुढिआमा सँग सुत्ने म आमालाई छाेडेर जानै मन लागेन
अँधेरी रात थियाे आधा प्रहर त कटिसकेकाे थियाे साेच्दा साेच्दै मनले के के भन्न लाग्याे यस्तै साेच्दा
 साेच्दै कतिखेर आँखा लागेछन् पत्तै
भएन।
बिहान निन्द्रा ढिलाे खुलेछ क्यारे तैपनि बहिनी कराएकाे आवाज कानमा पर्याे र आँखा खुले आँखा उघारेर हेर्दा म बुढिआमाकाे ओछ्यानमै थिएँ सायद बाले म निदाएपछि यता सुताईदिनु भएछ क्यारे
बहिनि राेयकाे ठाउँमा गएर उसलाई भुलाउन खाेजेँ र आमालाई भन्छु भन्दै आमा हेर्न जाँदा बाहिर धेरै जना मान्छे जम्मा भएका रहेछन्। फुपुहरु पनि आउनु भएकाे थियाे कसैले आँखाबाट आँसु पनि झार्दै थिए। तेतिबेला मलाइ उनिहरु रुन भनेरनै यहाँ किन आएका रहेछन् जस्ताे लाग्याे। मैले आमालाई हेरेँ आमा आनन्दले निदाउनु भएकाे थियाे। म आमालाई बाेलाउन भनेर आमा! बहिनी राेई उठेर दूध खुवाउनुस् न भनेँ मैले तेसरी भनेकाे देखेरनै हुनुपर्छ फुपुहरु डाकाे छाेडेर रुनुभयाे र नानी आमा बिमारि हुनुहुन्छ अहिले नबाेलाउ भन्नुभयाे ।तेसपछि आमालाई पहेँलाे कपडाले मुख छाेपिने गरि ढाकीयाे मैले आमाकाे मुख नढाक्नुस् न भनेँ उनिहरुले मैले भनेकाे के सुन्थे सुनेनन् बहिनलाई फुपुले दूध खुवाउनुभयाे र शान्त भई।एक छिन् पछि झनै धेरै गाउँभरिका मान्छे जम्मा भए पुरुषहरु अँधेराे मुख लाईरहेका थिए भने महिलाहरु धेरै जति राेईरहेका थिए।
 कसैले छाेराछाेरिले दु:ख  पाउने भए पनि भन्थे।कसैले सानि छाेरि मुल्याहा रैछे आमा लगि भन्थे तेसाे भन्दा मलाई अचम्म लाग्थ्याे र मनमनै बहिनी तेहिँ छे आमा पनि तेहि हुनुहुन्छ बिचरी बहिनिले कहाँ लग्थि र भन्थेँ बेसरी भन्दा त मेराे आवाज कसले सुन्थ्याे र!
केही समयमा बाँस ल्याएर घाराे बुन्न सुरु भयाे, ठुलाे आवाजमा तल्लाघरे बुढाबाले शंख फुक्नुभयाे। मलाई त्याे शङ्खकाे आवाज कत्ति मन परेकाे थिएन शङ्ख बज्दा मलाई नि खै किन किन सँग सँगै चिच्याएर रुन मन लाग्थ्याे तर खै किन न रुन सके न हस्न?  तेसदिनको दिनभरी नै म नत रुन सकेँ न हाँस्न अब मलाई आमा सँग बाहेक कसैसँग बाेल्नै मन थिएन।
फेरि यता उता नजर डुलाएँ बा भुईमा पछारिनु भएकाे रहेछ  सधै आमाको कुरा लगेर बालाइ लगाउने मैले तेस दिन बा सङ्ग केही बोल्नै मन भयन कि के भयो हुन त धेरै मान्छे देखेर पनि हुन सक्छ तर बुझ्नै सकिन।
एक दुईजना मान्छेले बालाई खै के भनेका थिए मैले सुनेकि पनि थिईन र बुझेकि पनि थिईन अझै भनाैँभने तिनिहरुकाे कुरामा मलाई केही चासाे थियन मलाई त आमालाई तेसरी किन राखेका हाेलान आमा उठेकाे भए साेध्ने थिएँ भन्ने तरखर मात्रै थियाे।
आमालाई तेहि बाँसकाे घाराेमा राखे र तुलसिकाे मठ वरिपरि चारजनाले चार तिरबाट बाेकेर घुमाए मैले फुपुलाई फूपू आमालाई काँ लैजान लाग्नुभएकाे? म पनि जान्छु आमा सँगै भनेँ फुपुले हाेइन नानि आमालाई अस्पताल लानेहाे तिमी त बहिनी हेर्नुपर्छ बहिनी तिमी सँग मात्रै मान्छे तेहिभएर बा मामाहरु सबै जानुहुन्छ तिमी नजाउ हामी पनि जादैनाैँ भन्नुभयाे। मैले राति आमाले बहिनी हेरेस् है नानी भनेकाे सम्झिएँ र केही नबाेलि बहिनि सँगै बसेँ।
साँझ परेपछि बा र आमालाई लिएर गएका सबै आए तर आमा आउनुभएन मैले बा सँग "आमा खै त बा?" भनेर साेधेँ  बा केही बाेल्नु भएन केवल मेरो मुखमा मात्र हेरिरहनु भयो र आखा टल्काएर मुख बिगार्नुभयाे यतिकैमा तल्ला घरकाे बुढाबाले तेरि आमा अस्पतालमै निदाएकि थिईन् नानी अरु मान्छे उतै कुरेर बसेकाछन् हामी आयाैँ भाेली पर्सि निन्द्रा बाट बिउँझेपछि आउछिन् भन्नुभयाे।
मैले मनले हाेईन भन्ने ठानेपनि के गर्नु र हाे भनेर मान्नै पर्थ्याे तर मृत्यु भन्ने तेतिखेर था पाएकाे भए खै के गर्थेँ थाहा भएन तर आमाकाे निन्द्रा खुलेपछि आमा आउने आशमा बस्नु सिवाय केही रहेन। आमाकाे निद्राबाट बिउँझने दिनकाे पर्खाई हामी भाइ बहिनी र मलाई रहिरह्याे ।
                          ********

बाँकी...........














Comments

  1. Replies
    1. हृदयविदारक हजुर। अति मिठो भाव र आमा प्रति समर्पित बहुत खुब हजुर। कलम नरोकिउन्🙏🙏

      Delete

Post a Comment